


विराटनगर । बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् ।


उधोगी व्यवसायीहरुले सोमबार बिहानैदेखि धर्ना दिएका हुन् । उद्योगीको धर्नाका कारण राष्ट्र बैंकका कर्मचारी बाटोमै रोकिएका छन् । गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । सोमबार बिहान ९ बजेदेखि धर्ना सुरु गरेका उनीहरुले बेलुका ४ बजेसम्म धर्ना दिने तयारी गरेका छन् ।


बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै उद्योगी व्यावसायीले निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा उनीहरुले सोमबार राष्ट्र बैंकको प्रवेशद्वारका लागि धर्ना दिएका हुन् । सडक छेकेर उद्योगी व्यावसायीले धर्ना दिएपछि बैंकका कर्मचारी बाहिरै रोकिए ।


बैंकको ब्याजदर घटाउन माग गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ सहित तीन दर्जन बढी संघसंस्थाले बिहीबारदेखि आन्दोलन गरिरहेका छन् ।