


सुन्दरहरैंचा । मोरङको दोश्रो ठूलो शहर सुन्दरहरैंचा कुनैबेला सबैको आकर्षणको केन्द्र बनेको थियो । यस पालिकाको विकास र समृद्धिको लागि सबै सरोकार पक्षहरु एकै छातामा रहने प्रचलन कायम थियो तर पछिल्ला समयमा देखिएका स–साना कमजोरीले पालिका प्रतिको हेर्ने दृष्टिकोणमा केहि धुमिलपना देखिन थालेको छ । नगरमा देखिएको समस्या र समाधानका लागि हामीले यस नगरमा सरोकार राख्ने विभिन्न क्षेत्रका व्यक्तीहरुलाई नगरका विभिन्न बिषयका बारेमा सोधेका थियौ । यसै विषयमा तयार पारिएको सामाजिक व्यक्तित्वहरुको सुझाव यस्तो छ:



शिवप्रसाद ढकाल, पुर्व नगरप्रमुख सुन्दरहरैचा नगरपालिका
हिजो हामी निर्वाचित भएर आउँदा कुनै ऐन, कानून र कार्यविधि थिएन हामी धेरै कलिला थियौं तर पनि सबैलाई मिलाएर जनताका अति आवस्यक बस्तुहरुको आवस्यकता परिपूर्ति गरेका थियौं । आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रवाह, सुशासन, मितव्ययिता, पारदर्शितामा जनताले कुरा उठाउन पर्ने अवस्था थिएन । म संस्थापक मेयर समेत रहेकोले यस नगरको गरिमा र आकर्षणप्रति आजको नेतृत्वले स–साना कुरामा समेत बिचार पु¥याउन नसक्दा नगरको गरिमामा नै चोट पुग्ला कि भन्ने चिन्ता नै आजको मेरो चिन्ताको विषय हो । यस नेतृत्वले सबै वर्ग, क्षेत्रलाई समयमा नै समेटेर अगाडी नजाने हो भने आउने पुस्ताको राजनितिक भविष्य र नगरको विकास पछि पर्ने देखिन्छ । यि विषयहरुलाई सच्याएर अगाडी बढ्न मेरो सुझाव रहेको छ ।



मातृकाप्रसाद ढकाल, नेकपा एमाले नगर अध्यक्ष सुन्दरहरैचा नगरपालिका
आफ्नो सरकार मेरै सरकार भन्ने अनुभुति दिलाउन पर्यो, कृषिको लगानिमा अनुगमन र ब्यवसायका लागि उचित वातावरण बनाउदै सुशासन कायम गर्न आवस्यक देखिन्छ । समयमा हुने र गर्न सकिने समयमा, गर्न नसकिने हो भने स्पस्टता समयमा नै आउन जरुरी देखिन्छ । शिक्षामा गुणस्तर सुधार, स्वास्थ्यमा आधारभुत सेवा पुरा गर्दै उपमहानगर बनाउने लक्ष्य सहित अघि बढ्नुपर्दछ ।



भक्तीप्रसाद सिटौला, सभापति नेपाली काङ्ग्रेस सुन्दरहरैचा
शिक्षा, स्वास्थ्यको आधारभूत आवस्यकता सहज रुपमा जनताको पहुँच योग्य बनाउँदै सुशासन, मितव्ययिता र पार्दर्शिता कायम गरि समृद्ध नगर निर्माणमा एक भएर नेतृत्वले सरोकारवाला पक्ष सग छलफल र सहकार्य गरी अघी बढ्नुपर्दछ ।

दुष्यान्त भट्टराई, अध्यक्ष नेकपा माओवादी केन्द्र सुन्दरहरैचा
नगरको बिकासका लागि अबको ५ बर्षम शिक्षाको अबस्था यहाँबाट कहाँ पु¥याउने, स्वास्थ्यको अबस्था कस्तो बनाउने, उत्पादनलाई आत्मनिर्भरतामा कसरी लैजाने, व्यवसायिक वातावरण कसरी सिर्जना गरी रोजगार र आय आर्जनमा सुधार गर्न पञ्च वषर््िाय योजना निर्माण गरी नेतृत्वले अगाडि बढ्न सुझाब दिइन्छ । शुसासन, पारदर्शिता र मितव्ययीता प्रति सचेत रहदै राजैनतिक अबस्थाबाट निर्वाचित प्रतिनिधीको साझा नेतृत्व बन्नुपर्दछ ।

डा. प्रकास भट्टराइ, स्वतन्त्रबाट मेयरका प्रत्यासी
यो नेतृत्वले संरचनात्मक सुधारका कार्य जस्तै शिक्षा, स्वास्थ्य, रोजगारी र आन्तरिक श्रोत बृद्धि गर्दै बाह्य श्रोत जुटाउने तथा सहि तरिकाले परिचालन गर्नु नै आजको आवस्यकता हो । गुणस्तरिय सरकार हुनको लागि सामान्य नागरिकलाई सहज पहुँचको सुनिस्चितता भएको पालिका बनाउनमा नै नेतृत्व लाग्नुपर्ने देखिन्छ । निर्वाचित जनप्रतिनिधि शासक जस्तो मोडलमा प्रस्तुत भएको देखिन्छ, सेवक जस्तो व्यवहार गर्नुपर्दछ ।

कृष्णप्रसाद रिजाल, अध्यक्ष सुन्दरहरैचा उद्योग वाणिज्य संघ
उद्योगी, व्यापारी र राजश्वको श्रोत बोकेका व्यवसायिलाई आवस्यक पर्ने ऐन, नियम, कार्यविधि निर्माण गर्दै कृषि पकेट, पशु पकेट, औद्योगिक ग्राम, प्रदर्शनी केन्द्र, उत्पादन र भण्डारण सम्मको कार्यक्रम ल्याउनु पर्ने साथै हिजो शुरु भएका राम्रा कामको निरन्तरता दिँदै आगामी दिनमा राम्रा कार्यक्रम कसरी ल्याउन सकिन्छ भन्ने विषयमा राजनैतिक आस्था भन्दा माथि उठेर काम गर्नुपर्दछ ।

राजेन्द्रबहादुर थापा, पूर्व वडा अध्यक्ष
जनतासँग सिधा सम्पर्क र जनताको सहज पहुँच भएको तह भनेकै स्थानीय तह हो । स्थानीय तहले जनतालाई प्रत्यक्ष अनुभूति हुने र सहज सेवा, र सरल पहुँच स्थापित हुने कार्यक्रम ल्याउनुपर्ने र यदि समयमा जनताको सेवा र विकासको अनुभूति दिन नसके दलहरुप्रति देखिएको वितृष्णाका कारण व्यवस्था नै संकटमा पर्ने अवस्था आएकोले नेतृत्वले जनतासँग प्रत्यक्ष अनुभूति हुने कार्यक्रम ल्याउन आवस्यक देखिन्छ ।

नवराज चापागाईं, सामाजिक व्यक्तित्व
स्थानीय सरकार भनेको सबैभन्दा नजिकको सरकार हो । भ्रष्टाचार मुक्त र सुशासनको पहिलो अनुभूति जनताले सहसुस गर्नुप¥यो । कृषि उत्पादन, आत्मनिर्भरता र निर्यात योग्य पालिका निर्माण गर्दै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने देखिन्छ । स्वास्थ्यको आधारभूत समस्या समाधान, गरिब तथा विपन्न वर्गको शिक्षाको अनुभूति हुने कार्यक्रम आउन सो क्षेत्रलाई समेटेर राजनैतिक आस्थाभन्दा माथी उठेर कार्य गर्नुपर्ने हुन्छ ।

रमेश खड्का, अध्यक्ष रेडियो सुसेली
सञ्चार क्षेत्रको विकास, उचित व्यवस्थापन र सहकार्य हुन नसके राम्रा कामको प्रचार र नराम्रा कामको खवरदारीका बिचमा तालमेल मिलाउन नसके समृद्ध नगर निर्माणमा समस्या हुनेछ । आन्तरिक नियन्त्रण प्रणाली, प्रशासनिक व्यवस्थापन सुशासन र सेवा प्रवाहको आधारभूत सारलाई नै सञ्चारले जनतासँग जोड्ने भएकोले सञ्चारसँग हातेमालो गर्दै दिगो विकासको लक्ष्य, पन्ध्रौं योजना, पञ्च वर्षिय योजना, मध्यकालिन खर्च संरचनालाई पछ्याउँदै जाने, वार्षिक योजनामा रमाएर नबस्न र करका दरलाई घटाउने उद्घोष हैन दायरालाई फराकिलो बनाउँदै अगाडी बढ्नुपर्छ ।

ललित श्रेष्ठ, सचिव नेपाली काङ्ग्रेस मोरङ
शुसासन, जबाफदेहिता, पारदर्शीता, भ्रष्टाचारमा शुन्य सहनसिलता कायम गरी समृद्ध नगर निर्माणमा सर्वपक्षीय छलफल र एकता सहितको सस्कार बस्न जरुरी देखिन्छ । हिजो नगरमा जुन राजनीतिक सस्कार थियो त्यसइलाई निरन्तरता दिदै सर्वपक्षिय तथा सर्वदलिय छलफलबाट नगरको दिर्घकालिन बिकासका योजना बनाई अगाडि बढ्न सकिन्छ ।

राजकुमार ओझा, पुर्ब प्रदेश सांसद
सहमति, सह अस्तित्व र सहकार्य सहित सुन्दरहरैंचा नगर निर्माण नै आजको पहिलो आवस्यकता रहेको छ । सबैको अस्तित्व सुरक्षित रहन सकेमात्र समृद्ध विकास सम्भब छ ।

अर्जुनराज अधिकारी, शिक्षासेवि
सबैको एकता, शिक्षा विकास, स्वास्थ्य विकास, पर्यटन विकास, उद्योगसंग जोडिएका उत्पादन संग जोडिएका बिषयलाइ अबको ५ बर्षका पुग्ने गन्तब्य सहितको पञ्चबर्षीय योजना निर्माण गर्न सबै क्षेत्र समेटिएको आम छलफल जुटाई साझा अवधारणा निर्माण गर्ने सुझाब राख्नु भएको छ । दिगो सोच, लक्ष्य, उद्देश्य र रणनीति बिना समग्र बिकास हुन नसक्ने भएकाले स्पष्ट भिजन सहित अगाडी जानुपर्छ ।