


विराटनगर । नेपाली काङ्ग्रेसको तर्फबाट प्रदेश १ को मुख्यमन्त्री बन्न तीन नेताले दाबी गर्दै आएका छन । अमृत अर्याल, उद्धब थापा र केदार कार्कीले मुख्यमन्त्रीको रुपमा आफुलाई अगाडि बढाउदै आएका छन ।


मुख्यमन्त्री बन्न पहिला दल भित्र संसदिय दलको नेता चुनिनु पर्ने हुन्छ । अहिले तिन जना नेता नै दल भित्र संसदिय दलको नेता बन्न लागिरहेका छन । तीन नेता मध्ये अमृत अर्याल र केदार कार्की प्रत्यक्ष चुनाव लडेर निर्वाचित भएका हुन भने उद्धब थापा समानुपातिक सांसद बनेर आएका हुन ।


अमृत अर्याल सस्थापन पक्षका नेता हुन भने उद्धब थापा र केदार कार्की सिटौला र कोइराला समुहका नेता हुन । सस्थापन पक्षका केही नेताले भने अर्याललाई मुख्यमन्त्रीबाट रोक्नलाई सिटौला समुहका थापालाई अगाडि सारेका छन । सस्थापन पक्षका रमेशजंग रायमाझी र डिला सङ्रौला अर्याललाई मुख्यमन्त्री बन्नबाट रोक्न थापाको पक्षमा उभिएका हुन ।


तर अर्याललाई मुख्यमन्त्री बनाउन चुनाव अगाडिनै देउवाले “ग्रिन सिग्नल” दिएका थिए । प्रदेश १ को मुख्यमन्त्री बनाउनको लागि केन्द्रिय समितीले अर्याललाई प्रदेशबाट चुनाव लडाएको थियो । जुन सहमती बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा , उप सभापति धनराज गुरुङ्ग ,महामन्त्री गगन थापा , कांग्रेस नेता डा.शेखर कोइराला सँगै थिए ।
बैठकमा सस्थापन इतर पक्षका नेता कोइरालाले नै अर्याललाई नै मुख्यमन्त्री बनाउन सहमती दिएपछी अर्याल प्रदेशबाट चुनाव लड्न सहमती भएका थिए । अहिले प्रदेश १ मा समेत सस्थापन इतर पक्षका अन्य केही नेताले अर्याललाई समर्थन गर्दै आएका छन ।