


विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको घरमा महानगरपालिकाको डोजर चलेको छ । मेयर कोइरालाले भाडामा लगाएको सटरमा अवैध रुपमा संरचना बनाएपछि महानगरको डोजर चलेको हो । पसलले बनाएका संरचना महानगरपालिकाले भत्काएको छ ।


विराटनगर महानगरपालिकाले बजार क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाउने अभियानको सुरुवात मेयरको घरमा निर्माण भएको संरचना हटाएर गरेको हो । विराटनगर–९ जलजला रोडस्थित कोइरालाले भाडामा लगाएका पसल सञ्चालकले सटर अगाडि आफूखुसी निर्माण गरेका संरचना हटाएर अभियान सुरु गरिएको नगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।


डोजरसहित पुगेको नगर प्रहरीले पसल अगाडि निर्माण गरेको सेटब्याकलगायतका अवैध संरचना हटाएको हो । नगर प्रहरीले जथाभावी झुण्ड्याइएका होडिङ बोर्डसमेत हटाएको थियो । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने महानगरको अभियानअन्तर्गत बजार क्षेत्रमा निर्माण गरिएका संरचना हटाउन सुरु गरिएको महानगरका मेयर नागेश कोइरालाले बताए । उनले ३५ दिने सूचना जारी गर्दा पनि व्यापारीहरुले अटेर गरेपछि बल प्रयोग गरेर हटाउनु परेको प्रस्ट पारे ।

