


विराटनगर । मोरङको जहदा गाउँपालिकामा बैङ्क लुट्ने प्रयास भएको छ । जहदा गाउँपालिका– ५ मा रहेको माछापुच्छ्रे बैङ्कको शाखामा शुक्रबार मध्यरातमा लुटपाटको प्रयास भएको हो ।


बैङ्कलाई लुटपाटको प्रयासबाट सुरक्षा गार्ड श्रवणकुमार सिंहले जोगाएका थिए । मध्यरातमा बैंकको ढोका फोडेर छिरेको समूहलाई सुरक्षा गार्ड सिंहले भगाएका थिए ।


मध्यरातमा अज्ञात समूह बैङ्कमा प्रवेश गरेपछि उनले चिच्याउदै हल्ला गरेका थिए । उनले आफु सग साथमा रहेको खुकुरी देखाएर तर्सान खोजे पनि लुटेरा समुह नभागेपछी सुरक्षा गार्ड सिंहले घर र छरछिमेकमा फोन गरेका थिए ।


छरछिमेकमा फोन गरेर हल्ला भएपछि भने दुई वटा ढोका फोडेर बैङ्क छिर्दै गरेको समूह फरार भएको थियो । ‘सुरुमा २ जनालाई देखे, तर त्यहाँ ७–८ जना मान्छे थिए,’ सुरक्षा गार्ड सिंहले भने,‘ सबैले मुख छोपेका थिए ।’
बैङ्कको सिसी क्यामेरामा भने दुई जना मात्रै देखिएका छन् । सिसी क्यामेरामा देखिएकाहरुले मुख छोपेका थिए । जहदाका स्थानीय नितिशकुमार साहका अनुसार शुक्रबार विहानको राति बैङ्क लुटपाटको प्रयासको हल्ला भएपछि गाउँलेहरु भेला भएका थिए ।