


विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पताल र काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले ओलम्पीक, साफ र एशियन खेलकुदमा सहभागि नेपाली खेलाडीलाई पाँच बर्षसम्म निःशुल्क उपचार गर्ने भएका छन् । ओलम्पीकमा सहभागि नेपाल भरका सबै खेलाडी तथा साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का खेलाडीहरुले निःशुल्क उपचार पाउँने भएका हुन् ।


खेलाडीका परिवारका सदस्यलाई पनि नोबेल र केएमसीले ५० प्रतिशत छुटमा उपचार गर्नेछ । प्रदेश १ खेलकुद विकास बोर्डले आइतवार विराटनगरमा आयोजना गरेको प्रदेश १ का साफ, एशियन र ओलम्पीक खेलाडी सम्मान कार्यक्रममा निःशुल्क तथा सहुलियतपूर्ण उपचारको सम्झौता भएको हो । यो बिषयमा नेपाल ओलम्पियन्स एशोसिएसन काठमाडौं र प्रदेश १ खेलकुद विकास बोर्ड विराटनगरले नोबेल र केएमसीसँग छुट्टा–छुट्टै सम्झौता गरेका छन् ।


प्रदेश १ खेलकुद विकास बोर्डसँग भएको सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.सुनिल शर्मा, नोबेलका प्रवन्ध निर्देशक इन्दिरा शर्मा बराल र प्रदेश १ खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले हस्ताक्षर गरेका छन् । त्यस्तै, ओलम्पियन्स एशोसिएसनसँग भएको सम्झौतामा पनि काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष डा.शर्मा, नोबेलका प्रवन्ध निर्देशक बराल र एशोसिएसनका अध्यक्ष दिपक बिष्टले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्काबीच साटासाट गरिएको थियो ।


सम्झौता अनुसार अन्तर्राष्ट्रिय खेलकुद ओलम्पीकमा भाग लिएका देशभरका सम्पूर्ण खेलाडीले नोबेल र केएमसीमा निःशुल्क उपचार पाउँनेछन् । साफ र एशियन खेलकुदमा सहभागि प्रदेश १ का सम्पूर्ण खेलाडीहरुलाई पनि नोबेल र केएमसीले निःशुल्क उपचार गर्नेछ । उनीहरुले दुवै अस्पतालको क्याबिनमा रहेर उपचार गराउँदा पनि शुल्क लाग्नेछैन । ओलम्पिकमा हालसम्म नेपालका ८८ खेलाडीले भाग लिएका छन् । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ । यता, प्रदेश १ का २२५ खेलाडीले साफ र एशियन खेलकुदमा भाग लिएका छन् । उनीहरुले निःशुल्क उपचार सेवा पाउँनेछन् ।