


सुन्दरहरैचा । सडक डिभिजन कार्यालय विराटनगरले भत्किएको पुर्वपश्चिम लोकमार्गको सडक मर्मत सम्भार गर्न शुरु गरेको छ । सुन्दरहरैचा स्थित बुधबारे बजार क्षेत्रको सडकमा शनिबार राति देखी सडक मर्मतको नाममा सडक डिभिजन कार्यालय विराटनगरले कालोपत्रे गर्न शुरु गरेको हो ।


निर्माण कार्य गर्न ठेक्का पाएको सपना आरके इनरुवाले ठेक्का पाएर महिना दिन अघि सो क्षेत्रमा सडकलाई मर्मत गर्न भत्काएको थियो । यस क्षेत्रमा पटक पटक वर्षमा एक पटक सडक मर्मतको नाममा सडक कालोपत्रे हुदै आएको छ ।


तर पटक पटक कालोपत्रे हुँदा पनि वर्ष दिन नपुग्दै उक्त क्षेत्रको सडक पुन: भत्किन शुरु हुन्छ । शनिबार साझ ठेक्का पाएको कम्पनी सपना आरके इनरुवाले उक्त क्षेत्रमा रहेका खाल्डाखुल्डी नपुरी सडक कालोपत्रे गर्न शुरु गरेपछी स्थानियले निर्माण कार्यमा अवरोध गरी निर्माण कार्य नै स्थगित गरेका छन ।


बजार क्षेत्रको सडकमा शनिबार राती कालोपत्रे गर्न शुरु गरेपछि स्थानीयले अवरोध गरेका हुन । भत्किएको सडकमा प्राइमकोड गरेर मात्रै पिच गर्नुपर्ने स्थानियको माग छ ।
निर्माण कार्यको जिम्मा पाएको कम्पनी सपना आरके इनरुवाका इन्जिनियर सुजन ढकालले खाल्डाखुल्डीलाई ग्राउण्डिङ गरेर ट्यागकोड बाक्लो हालेर पिच गर्न लागिएको बताए । तर स्थानियको अवरोध आएपछी हामीले निर्माण कार्य स्थगित गर्यौ, ढकालले भने ।
उक्त क्षेत्रमा पर्ने सडक पटक पटक भत्किदा कहिले हिलाम्मे र कहिले धुलाम्मे हुने गर्दछ । स्थानियले पटक पटक दिर्घकालिन रुपमा सडक कालोपत्रे गर्नुपर्ने माग राख्दा समेत सडक डिभिजन कार्यालय विराटनगरले पटक पटक वर्षेनी मर्मत सम्भारको नाममा कमसल कालोपत्रे गर्दै आएको छ ।