


रतुवामाई । मोरङको रतुवामाईमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको भएको छ । वडा नं १ हटिया डाँडास्थित आमबारी–कुटुमगञ्ज सडकखण्डमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।


उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ४५५१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर साँझ ५ः२० बजेतिर दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी नगरपालिका–९ का अन्दाजी २५ वर्षीय राजकुमार शर्माको मृत्यु भएको छ ।


टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि रङ्गेली अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका हुन् । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक घाइते भएका छन् । भारत अररिया कुसाकट्टाका अन्दाजी २२ वर्षीय किसन कुमजार कामत घाइते भएको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार कामतको रङ्गेली अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनामा परेर मृत्यु भएका मोटरसाइकल चालकको साथमा आवश्यक कागजपत्र फेला नपरेको जानकारी प्रहरीले दिएको छ । तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।