


सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित साजिलाल माध्यमिक विद्यालयले कवर्डहल निर्माण कार्यको शिलान्यास गरेको छ । प्रदेशकै बिग स्कुलको रुपमा छनौट भएको साजिलाल माध्यमिक विद्यालयले तयार गरेको नयाँ गुरुयोजना अनुशार पहिलो कार्यको रुपमा कवर्डहल निर्माणका लागि शिलान्यास गरिएको हो ।


कवर्डहल निर्माणको लागि आईतवार विद्यालयको जग्गामा सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले कवर्डहलको शिलान्यास गरेका छन । कवर्डहलको शिलान्यास कार्यक्रममा बोल्दै नगर प्रमुख ढकालले विग स्कुलको रुपमा छनौट भएको साजिलाल माध्यमिक विद्यालयले नमुना कवडहल निर्माण गर्न लागेको भन्दै यसकार्यमा नगरपालिकाबाट मात्र नभएर प्रदेश सरकार र संघीय सरकारबाट समेत बजेट जुटाएर निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।


करिव पौने ३ करोडको लागतमा भलिवल, बास्केटवल, व्याडमिन्टन, कराँते, तेक्वान्दो लगायतका खेलका संरचना निर्माण गरि खेलग्रामकै रुपमा विकास गर्ने योजना रहेको विद्यालयका प्रधानध्यापक कल्याणप्रसाद सिटौलाले जानकारी दिए । स्थानीयबासी, नगरपालिका, प्रदेश सरकार र संघीय सरकार समेतको लागत सहभागितामा कवर्डहल निर्माण गर्ने योजनाका साथ काम अघि बढाइएको उनले बताएका छन ।


कवर्डहल निर्माण समितिका अध्यक्ष प्रकाश सिग्देलको अध्यक्षतामा कवर्डहल निर्माण कार्यको शिलान्यास भएको थियो ।