


विराटनगर । विद्यार्थीहरूले विराटनगरको नोबेल मेडिकल कलेज अगाडि मंगलबार टायर बालेर प्रदर्शन गरेका छन् । मेडिकल कलेजका संचालक शुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीहरूलाई भर्ना नगर्न र पठनपाठन नगर्न निर्देशन दिएपछि विद्यार्थीहरूले प्रदर्शन चर्काएका हुन् ।


नोबेलमा अध्ययनका लागि भर्ना हुने तयारीमा रहेका विद्यार्थीको आन्दोलनलाई विभिन्न संघसंगठनले समर्थन गर्दै आन्दोलनलाई थप सशक्त पार्दै गएका हुन् । अस्पताल प्रवेश गर्ने मूलगेटमै टायर बालेर प्रदर्शन गरेका हुन् । विद्यार्थीहरूले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् ।


कलेजमा रहेको एक सय विद्यार्थीको कोटामा भर्ना भएका ९६ विद्यार्थीमध्ये नौ जना भारतीय, १० जना छात्रवृत्तिका र पाँच जना अतिरिक्त शुल्क बुझाएका विद्यार्थीलाई पढाइरहेको तर आफूहरूलाई अतिरिक्त शुल्क नबुझाएको भन्दै कलेज प्रवेशमा नै रोक लगाएकाले पीडित विद्यार्थीहरुले आन्दोलनलाई निरन्तरता दिँदै आएका छन् ।


चिकित्सा शिक्षा आयोगले एमबीबीएस अध्ययनका लागि ४४ लाख ३६ हजार २५ रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसमध्ये प्रथम वर्षको १४ लाख ८५ हजार अभिभावकले बुझाइसकेका छन् । तर‚ कलेज सञ्चालक सुनिल शर्मा अतिरिक्त २० लाख शुल्क बुझाउने सम्झौता पत्रमा हस्ताक्षर गराएपछि मात्रै पठनपाठन सुरु गर्ने अडानमा छन् ।