


माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।


आइतबार राति भएको खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो ।


मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले निर्णायक गोल गरे ।


कप्तान सुनिलले खेलको ८२ औं मिनेटमा गोल गरे । उनले फारुख चौधरीको हेडर पासमा गोल गरेका हुन्।

नेपालविरुद्ध एकतर्फी खेल खेलेको भारतले अन्य थुप्रै गोलको अवसर खेर फालेको थियो ।
पहिली हाफको ३३ औं मिनेटमा सुनिलले खाली पोस्टमा गर्न सकेनन् ।
नेपालका कप्तान तथा गोलकिपर किरण चेम्जोङ बिट भईसकेको अवस्थामा उनको वान टच प्रहारले पोस्टको दिशा लिन सकेन ।
यस्तै खेलको ५७ औं मिनेटमा भारतका मनबिर सिंहले गोलको अवसर गुमाए । सिंहको फ्रि हेडर नेपालका कप्तान तथा गोलकिपर किरणले उत्कृष्ट बचाउ गरे ।

यससँगै भारतले प्रतियोगितामा पहिलो जित निकालेको छ ।
भारतले ३ खेलमा ५ अंक जोडेको छ । भारत तेस्रो स्थानमा समेत उक्लिएको छ ।
नेपालको यो पहिलो हार हो । नेपालले ३ खेलमा ६ अंक जोडेको छ ।
नेपाल दोस्रो स्थानमा झरेको छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको छ।
भारतसँगको हारसँगै अब नेपाललाई फाइनल पुग्न अन्तिम खेल कुर्नु पर्ने भएको छ ।
अब नेपालले अन्तिम खेलमा बंगलादेशविरुद्ध बुधबार प्रतिस्पर्धा गर्ने छ।
अब बंगलादेशविरुद्ध बराबरी वा जित निकालेमा नेपाल फाइनल पुग्नेछ।