


सुन्दरहरैचा । मोरङस्थित सुन्दरहरैचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा साउन १ गते लुटपाटको प्रयास गर्ने स्वचालित हतियारधारी समूहका ५ जना पक्राउ परेका छन् । उनीहरूलाई मोरङकै केराबारी क्षेत्रबाट मङ्गलवार राती पक्राउ गरिएको हो ।


यो समूहबाट सुन पसल लुटपाट गर्न प्रयोग गरिएको स्वचालित हतियार स्टर्लिङ मेसिन गन (एसएमजी), एउटा कटुवा पेस्तोल र एउटा चाइनिज पेस्तोलसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट विभिन्न हतियारमा प्रयोग हुने ७० राउन्ड गोली पनि बरामद भएको छ।


पक्राउ परेको समूह सोही घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको प्रहरीले जनाएको छ। अहिले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखी अनुसन्धान भइरहेको छ ।


यो समूहको खोजीमा जिल्ला प्रहरी कार्यालय मोरङ, १ नं. प्रदेश प्रहरी कार्यालयको (रिट) समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टिम परिचालित भएको थियो ।