


फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ ।


कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्नेछ । अष्ट्रेलिया र नेपालबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।


नेपाल अष्ट्रेलियासँग उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको छ । नेपालको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले अष्ट्रेलियासँग राम्रो खेल पस्कने बताएका छन् ।’आशा छ हामी अष्ट्रेलियाविरुद्ध अर्को राम्रो खेल खेल्नेछौं। हाम्रो खेल्ने शैली सुधार भएको छ र हामीले हाम्रा समर्थकहरुलाई खुशी पार्न सकेका छौं,’ प्रशिक्षक अलमुताईरी भन्छन् ।


नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाईसकेको छ । तर, नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी रहेको छ ।
यस्तै प्रशिक्षक अलमुताईरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडीले मौका पाउने समेत बताए ।
‘सबै ठीकठाक छ भने उनीहरूले खेल्ने छन् । म बुझ्छु, अष्ट्रेलियाविरुद्ध खेल्नु गार्हो छ तर उनीहरूले खेल्नु महत्वपूर्ण छ,’ उनले भने ।
अष्ट्रेलियाका मुख्य प्रशिक्षक ग्राहम आर्नोल्डले नेपाली टिम मेहेनती टिम भएको बताउँदै आर्नोल्डले नेपालसँग खेल्न उत्साहित रहेको बताउँछन् ।
‘उनीहरु फरक शैलीमा खेलिरहेका छन् र पछाडीबाट खेल्ने कोशिस गरिरहेका छन् । प्रशिक्षकले धेरै राम्रो काम गरिरहेका छन् र हामी नेपाललाई सम्मान गर्दछौं । नेपाल मेहनती टोली हो,’ आर्नोल्डले भने ।
यस्तै प्रशिक्षक आर्नोल्डले नेपालविरुद्धको खेलमा सुरुवाती-११ मा परिवर्तन हुने समेत बताए ।