


नेपालले आज (शनिबार) इराकविरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ ।


इराकको बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । नेपाल र इराकबीचको खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ ।
मैत्रीपूर्ण खेलका लागि २३ खेलाडीसहित ३६ सदस्सीय टोली बुधबार नै बसरा पुगिसकेका छन् ।


सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । इराक पनि फिफा विश्वकप र एसिया कप छनोटको बाँकी खेल खेल्ने तयारीमा छ ।


फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरीयतामा इराक ६८ औं स्थानमा छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।

इराकविरुद्धको खेल कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको पहिलो खेल हुनेछ ।
नेपाल र इराकबीच यो चौंथो भेट हुनेछ । यस अघि नेपाल र इराकले ३ खेलमा प्रतिस्पर्धा गरेका छन् । तीनै खेलमा इराकले ‘क्लिन स्विप’ गरेको छ ।
करिब दुई दशकपछि मैदान उत्रदा दुबै टोलीमा युवा र अनुभवी खेलाडी रहनेछन् । यसबीचमा इराकले एसिया कप समेत जितिसकेको छ । नेपाल भने दक्षिण एसियाली फुटबलमै सिमित छ ।
मुख्य प्रशिक्षक अलमुताईरीले यस पटक नेपाली टिममा ठुलो परिवर्तन गरेका छन् । पछिल्लो समय थ्री नेसन्स कपको उपाधि विजेता टोलीबाट उनले १० खेलाडीलाई मात्रै टिममा लिएका छन् । उनले ६ नयाँ खेलाडीलाई टोलीमा अवसर दिएका छन् ।

इराक फिफा विश्वकप छनोटको नजिक रहेको छ । समूह ‘सी’ बाट ५ खेल खेलिसकेको इराक ११ अंक सहित शीर्ष स्थानमा रहेको छ । उसलाई पछ्याईरहेको बहराईन ९, इरान ६, हङकङ ५ र कम्बोडिया १ अंक रहेको छ ।
यता, समूह ‘बी’ मा रहेको नेपालको भने विश्वकपमा छनोट खेल्ने सपना टुंगिसकेको छ । यद्दपी बाँकी तीन खेल जिते दोस्रो स्थानमा रहँदै छनोट हुने सम्भावना भने रहेको छ । नेपालको एसियन कपमा छनोट हुने सम्भावना समेत बाँकी रहेको छ ।
नेपाल समूहको चौंथो स्थानमा रहँदा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । नेपालले अब कुवेतमा अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेसँग प्रतिस्पर्धा गर्नेछ । एसियाली पवार हाउसविरुद्ध अंक खोस्न सके नेपालले कम्तिमा एसिया कप छनोटको तेस्रो चरणमा स्थान बनाउने छ ।
अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोलि कुवेत जानेछन् ।