


सुन्दरहरैचा । कोरोना सङ्क्रमणको दोस्रो भेरिएन्ट गाउँघरसम्मै पुगेपछि जनप्रतिनिधिहरू आवश्यक औषधि र स्वास्थ्यकर्मीसहितको टोली लिएर सङ्क्रमितको घरघरमा पुगेका छन् । गत वर्षको पहिलो चरणको कोरोना सङ्क्रमणको प्रभाव गाउँघरमा भन्दा बजार क्षेत्रमा बढी प्रभावित पारेको भए पनि यसपटकको दोस्रो लहरको सङ्क्रमण बजार क्षेत्रसँगसँगै ग्रामीण क्षेत्रमा समेत बढी फैलिँदै गएकाले स्थानीय जनप्रतिनिधि सङ्क्रमितको स्वास्थ्य अवस्था बुझ्नुका साथै आवश्यक सल्लाह र औषधि दिनका लागि घरगाउँमै पुग्ने गरेका छन् ।


सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रशाद ढकाल स्वास्थ्यकर्मीसहितको टोलीसँगै नगरमा रहेका सङ्क्रमितको घर-घरमा औषधि लिएर पुगेका छन । कोरोना सङ्क्रमित बिरामीका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने औषधि सङ्क्रमित बिरामीको घरमै पुगेर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।


नगरप्रमुख ढकालले गाउँगाउँमा सङ्क्रमण बढ्दो अवस्थामा रहेकाले सङ्क्रमितको घरमै पुगेर आवश्यक परामर्शसहित औषधिसमेत वितरण गरिएको बताए। गाउँमा रोगका लक्षण देखिए पनि उपचारमा चासो नदेखाउनुका साथै त्रसित बनेर बस्ने अवस्था आएकाले नगरपालिकाको एक टोली नै बनाएर गाउँगाउँमा पुगेको उनले बताए । नगरप्रमुख ढकालले भने, “गाउँघरमा कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिए पनि जनचेतना अभावमा सतर्कता नअपनाएको र छिमेकमा समेत त्रास फैलिने अवस्था आएकाले सङ्क्रमितको घरघरमा पुगेर आवश्क परामर्श दिँदै आएका छौँ ।”


नगरप्रमुख ढकालले भने, “हामी अहिले नगरवासीलाई कोरोनाको सङ्क्रमण हुनबाट कसरी सुरक्षित गर्न सकिन्छ भनेर लागिरहका छौँ । कोरोना सङ्क्रमणबाट त्रसित बनेका सङ्क्रमित आफ्नै घरआँगनमा औषधिसहित स्वास्थ्यकर्मी टोली लिएर जनप्रतिनिधि आइपुग्दा खुशी लागेको बताउँछन् । स्थानीय तहका प्रमुखलगायत टोलीले सङ्क्रमितको घरमै पुगेर भेटघाटका साथै आवश्यक सरसल्लाह एवं सुझाव दिँदा सङ्क्रमितले राहत महसुस गरेका छन् ।